काठमाडौं। १०औं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगको फाइनल खेल आज हुँदैछ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने फाइनलमा महिला र पुरुषतर्फ रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
महिलातर्फको फाइनलमा न्यू डायमण्ड स्पोर्ट्स क्लब र नेपाल पुलिस क्लब आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ। दुवै टोलीले लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनल यात्रा तय गरेका हुन्।
त्यसैगरी, पुरुषतर्फको फाइनलमा रुकुम पश्चिम भलिबल क्लब र हेल्प नेपाल स्पोर्ट्स क्लबबीच प्रतिस्पर्धा हुनेछ। यो खेल अपराह्न ४ बजे सुरु हुने तालिका रहेको छ। दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रनेछन्।
लिग चरणकाे खेलमा रुकुम हेल्प नेपालसँग ३–० काे सेटमा पराजित भएकाे थियाे। यस्तै अन्तिम खेलमा हेल्प नेपाल आर्मीसँग ३–० काे सेटमा पराजित भएकाे थियाे।
लिगमा ७ खेलबाट ६ जित र एक हार ब्यहाेरेकाे रुकुम र हेल्प नेपालकाे समान १८ तथा १५ अंक जाेडेकाे पुलिस तेस्राे हुँदा १४ अंक जाेडेकाे आर्मी चाैथाे भयाे।
समान ७ अंक जाेडेकाे एपीएफ खिल्जी क्रमश पाँचाैं र छैठाैं स्थानमा रहँदा ४ अंकसहित काेशी प्रदेश साताैं तथा दुई अंकसहित बुढानिलकण्ठ पूछारमा रह्याे।


