काभामा नेपाल अन्तिम स्थानमा सीमित, काजाकिस्तानसँग सोझो सेटमा पराजित

काठमाडौं। काभा पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत पाँचौं स्थानका लागि भएको खेलमा नेपाल काजाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ।

मंगलबार भएको खेलमा काजाकिस्तानले नेपाललाई २५–१८, २७–२५ र २५–२० ले पराजित गर्‍यो। पहिलो सेट २५–१८ ले सहजै आफ्नो पक्षमा पारेको काजाकिस्तानले दोस्रो सेटमा नेपालबाट कडा चुनौती सामना गरेको थियो। नेपालले उत्कृष्ट पुनरागमनको प्रयास गरे पनि २७–२५ ले सेट गुमायो। त्यसपछि तेस्रो सेट २५–२० ले जित्दै काजाकिस्तानले खेल ३–० ले आफ्नो पक्षमा पार्‍यो।

नेपालले प्रतियोगिताभर केही उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिममा अपेक्षित नतिजा निकाल्न सकेन। यससँगै नेपाल जारी प्रतियोगितामा एक खेल पनि जित्न नसकी अन्तिम स्थानमा सीमित भयो।

नेपाल पहिलो खेलमै काजाकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो। त्यसपछि दोस्रो खेलमा श्रीलंका, तेस्रो खेलमा पाकिस्तान, चौथो खेलमा बंगलादेश र लिग चरणको अन्तिम खेलमा उज्बेकिस्तानसँग पराजित भएको थियो।

नेपालले प्रतियोगिताका ६ खेलमध्ये तीन खेल पाँचौं सेटसम्म पुर्‍याए पनि जित निकाल्न सकेन भने बाँकी तीन खेलमा सोझो सेटमा हार व्यहोर्‍यो।

यस प्रतियोगितामा पाकिस्तान लिग चरणमा शतप्रतिशत जितसहित शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगेको थियो।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको