काठमाडौं । तेस्रो संस्करणको हिमालयन गोल्डकप फुटसल प्रतियोगिता आगामी बिहीबार र शुक्रबार दुई दिन आयोजना हुने भएको छ।
आइतबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्चको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो।
हिमालयन फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ पुरस्कार पाउनेछ। उपविजेताले १ लाख रुपैयाँ प्राप्त गर्नेछ।
यस्तै, फेयर प्लेय टिमले २० हजार रुपैयाँ पाउनेछ। विधागततर्फ उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक र उदयमान खेलाडीले समान १० हजार तथा उत्कृष्ट प्रशिक्षक र व्यवस्थापकले समान ५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
प्रतियोगितामा ४० भन्दा बढी टोली सहभागी हुने क्लबका अध्यक्ष विनोद कार्कीले जानकारी दिए। त्यसमध्ये पाँच टोली बाहिरी जिल्लाबाट सहभागी हुनेछन्। बाहिरी जिल्लाबाट आउने टोलीका लागि आयोजकले खाना र आवासको व्यवस्था गर्ने जनाएको छ।
यस वर्ष प्रतियोगितालाई सामाजिक सहयोग अभियानसँग समेत जोडिएको छ। बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित परिवारको सहयोगका लागि प्रतियोगिताका क्रममा सहयोग सङ्कलन अभियान सञ्चालन गरिनेछ। सङ्कलित रकम विपद् प्रभावित तथा पीडित परिवारको राहत र सहयोगमा प्रयोग गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका सबै खेल रोयल नेपाल फुटसल मैदान, पेप्सीकोलामा हुनेछन्। यसअघिका दुवै संस्करणको उपाधि आयोजक हिमालयन फुटबल क्लबले जितेको थियो। प्रतियोगिता सञ्चालनका लागि करिब २० लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।