भक्तपुर । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले देशलाई अन्तरास्ट्रिय जगतमा चिनाउनका लागि खेलकूद उपयुक्त माध्यम भएकाे बताउनुभएकाे छ ।
शनिबर भक्तपुर जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताकाे उद्घाटन गर्नुहुँदै उहाँले खेलकुदकाे महत्वबारे बताउनुभएकाे हाे । असल र अनुशासित नागरिक उत्पादनका लागि पनि खेलकूदकाे भूमिका महत्वपूर्ण रहने उहाँकाे भनाई छ ।
`जति बढी खेलाडी उत्पादन गर्न सक्याैं त्यतिनै मात्रामा अनुशासित र असल नागरिक उत्पादन हुने कारणले गर्दा खेलकूदकाे महत्वलाई सबैले बुझ्नुपर्छ,´ उहाँले भन्नुभयाे । उहाँले खेलकूदले खेलाडीकाे स्वास्थ्य राम्राे हुने भन्दै आफ्नाे रुचि भएकाे कुनै न कुनै खेलमा लाग्न पनि सुझाव दिनुभयाे ।
पहिला खेलकुद हाेइन पढाईमा मात्र ध्यान दिनुपर्छ भन्ने साेचाई थियाे । तर, समय परिवर्तन हुँदै गइसकेपछि अहिले पढाईमा त रुचि राख्नु नै पर्छ, विद्यार्थीकाे समग्र व्यक्तित्व विकासका लागि खेलकुद पनि आवश्यक छ भन्ने धारणा विकास हुँदैछ,´ उपप्रधानमन्त्री सिंहले भन्नुभयाे । उहाँले विद्यार्थीकाे व्यक्तित्व विकासका लागि अनुशासन आवश्यक पर्ने र खेलकूदले अनुशासित बन्न सिकाउने भएकाले खेलकूद मानव जिवनका लागि आवश्यक रहेकाे बताउनुभयाे ।


