एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्डको मिति सर्याे


धनगढी । ‘छैठौं एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड २०८१’ चैतको अन्तिम साता हुने भएको छ। यसअघि चैत ७ गते हुने भनिएको अवार्ड प्राविधिक कारणले दुई साता पछाडि सार्ने निर्णय भएको आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ।

मञ्चले आठ विधामा अवार्ड प्रदान गर्दै आएको छ। त्यसमध्ये सुदूरपश्चिम आइकन पुरुष र महिला तथा वर्ष युवा खेलाडी र वर्ष प्रशिक्षकको मनोनयन सार्वजनिक भइसकेको छ। वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका नरेन साउँद, फुटबलका निराजन धामी र कबड्डीका सुशील चुनारा परेका छन्। यस्तै, वर्ष प्रशिक्षकको मनोनयमा कबड्डीका विष्णुदत्त भट्ट, भलिबलका जगदीश भट्ट र कबड्डीकै हरिना थापा परेकी छिन्।

सुदूरपश्चिम आइकन पुरुष विधामा कबड्डीका खगेन्द्र जोशी, पौडीका अथर्व सिंह र क्रिकेटका हेमन्त धामी तथा सुदूरपश्चिम आइकन महिला विधामा करातेकी मनिषा बोहरा, कबड्डीकी मनिषा जोशी र क्रिकेटकी सावित्री धामी मनोनयनमा परेका छन्। अब वर्ष खेलाडी पुरुष र महिलाको मनोनयन सार्वजनिक गर्न बाँकी छ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५–३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५–२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष प्रदीप पाठकले जानकारी दिए। उनका अनुसार सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २०–२० हजारसहित ट्रफी प्रदान गरिनेछ।

सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपीए)को मुख्य प्रायोजनमा अवार्ड भइरहेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् मुख्य प्रबद्र्धक रहेको छ भने कैलाली उद्योग वाणिज्य संघ, धनगढी उपमहानगरपालिका वडा नम्बर १, २, ३, ४, ९, १३ र १८ ले प्रबद्र्धक रहेका छन्। अवार्डलाई चैतन्य पाठशाला, सीपी अस्पताल, मायामेट्रो अस्पताल, निसर्ग अस्पताल र बिवाइडी मोटरले पनि प्रायोजकका रुपमा साथ दिएका छन्।


तपाईको प्रतिक्रिया !!!
भर्खरै प्रकाशित
यो साता धेरै पढिएको